वि. सं. २०३० सालमा नेपालकै पहिलो संरक्षित क्षेत्रको रुपमा ५४४ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो। यो निकुञ्ज वि. सं. २०३४ सालमा यसको क्षेत्रफल विस्तार भै ९३२ वर्ग किलोमिटर र वि. सं. २०७३ सालमा ९५२.६३ वर्ग किलोमिटर कायम गरिएको थियो। निकुञ्जले चितवन, नवलपुर (बर्दघाट सुस्ता पूर्व), मकवानपुर र पर्सा जिल्लाको भूभागलाई समेटेको छ भने मुख्यतया नारायणी, राप्ती र रिउ नदीको नदितटीय क्षेत्रमा अवस्थित छ। चितवन राष्ट्रिय निकुञ्ज तराई भू-परिधिस्तरको महत्त्वपूर्ण भागहरु मध्ये एक हो जुन पूर्वमा नेपालको पर्सा राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको वाल्मिकी टाइगर रिजर्भसँग जोडिएको छ। उत्कृष्ट विश्वव्यापी मूल्यका अद्वितीय जैविक स्रोतहरुको मान्यतामा, युनेस्कोले नोभेम्बर १९८४ मा निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो भने निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको बीस हजारी ताल क्षेत्रलाई अगस्त २००३ मा अन्तराष्ट्रिय महत्वको सिमसार क्षेत्र (रामसार साइट) मा सूचित गरिएको छ।

यस निकुञ्जमा ४२२ प्रजातिका वनस्पति, ७५ प्रजातिका स्तनधारी, ६४३ प्रजातिका चरा र १२० प्रकारका माछा पाइन्छन्। यो निकुञ्ज पाटे बाघ (Panthera tigris), एसियाली जङ्गली हात्ती (Elephas maximus), एक सिङ्गे गैंडा (Rhinoceros unicornis), डल्फिन (Platanista gangetica) जस्ता संरक्षित स्तनधारी प्रजातिहरुको घर हो। यहाँ अति संकटापन्न घडियाल गोही (Gavialis gangeticus), सुन गोहोरो (Varanus flavescens) र अजिङ्गर (Python molurus) पनि बसोबास गर्दछन्। अति संकटापन्न ठूलो खरमजुर (Houbaripsis bengalensis) र सानो खरमजुर (Sypheotides indica), अति संकटापन्न डंगर गिद्ध (Gyps bengalensis), ठूलो धनेश (Buceros bicornis), हिमाली हाप्सिलो (Bubo bubo) निकुञ्जको प्रतिकात्मक पंक्षी प्रजातिहरु हुन्।

चितवन राष्ट्रिय निकुञ्जले संरक्षण सम्बन्धि विभिन्न चुनौतिहरुको सामना गरिरहेको छ जसमा प्रमुख प्रजातिहरुको संख्या सुनिश्चित गर्न जैविक विविधता संरक्षणको लागि सावधानीपूर्वक सम्बोधन गर्न आवश्यक छ। मानव-वन्यजन्तु द्वन्द्व, अवैध चोरी शिकार, ठूला रेखीय पूर्वाधारहरु (राजमार्ग, सिँचाइ नहर र प्रसारण लाइनहरु), वन्यजन्तुहरुको अवैध व्यापार (जीवित वा यसका भागहरु/आखेटोपहार), वन डढेलो, बाढी, अतिक्रमण, बासस्थानको क्षयीकरण, मिचाहा प्रजातिको फैलावट र समस्याग्रस्त वन्यजन्तु व्यवस्थापनलाई मुख्य समस्याका रुपमा पहिचान गरिएको छ। यो व्यवस्थापन योजनाले यी अधिकांश समस्याहरुलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

यो व्यवस्थापन योजना संरक्षित क्षेत्र व्यवस्थापन योजना तयारी कार्यविधि, २०७३ अनुसार समीक्षा, अन्तरक्रिया र सहभागीतामूलक स्थलगत अवलोकन, स्थानीय स्तरका र केन्द्रीय स्तरमा कार्यशाला र विशेषज्ञ समीक्षाहरू सहित प्रमुख सरोकारवालाहरुको परामर्शको माध्यमबाट तयार गरिएको छ। यस योजनाले निकुञ्जको विविध र असाधारण जैविक विविधताको संरक्षण गर्ने, विश्व सम्पदाको रुपमा यसको उत्कृष्ट विश्वव्यापी मूल्य मान्यतालाई आत्मसाथ गर्ने र स्थानीय समुदायको कल्याणलाई बढावा दिने परिकल्पना गरेको छ। यस दृष्टिकोणलाई प्राप्त गर्नका लागि निकुञ्जले आफ्नो जैविक विविधताको संरक्षण गरी खतरामा परेका प्रजातिको दीर्घकालीन संरक्षण सुनिश्चित गर्ने र व्यवस्थापनका लक्ष्यहरुका साथ स्थानीय जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यहरू राखेको छ । जस अन्तर्गत गैंडा, बाघ र अन्य प्रमुख प्रजातिहरुको सङ्ख्या कायम राख्नु, विश्व सम्पदा क्षेत्रको रुपमा निकुञ्जको उत्कृष्ट विश्वव्यापी मूल्य मान्यता कायम राख्नु, स्थानीय समुदायको सक्रिय सहभागितालाई बढावा दिनु, दिगो पर्यटनलाई बढावा दिनु, सहभागितामूलक जैविक विविधता संरक्षणका प्रयासहरुलाई सहजीकरण गर्नुका साथै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका संस्थाहरूको संस्थागत क्षमतालाई सुदृढ गर्नु रहेको छ।