दुर्लभ एक सिंगे गैंडा तथा पाटे बाघको मुख्य बासस्थानको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा वि.सं. २०३० साल असोज ४ गते (सन् १९७३ सेप्टेम्बर २०) स्थापना भएको हो । स्थापनाको समयमा यस राष्ट्रिय निकुञ्जको क्षेत्रफल ५४४ वर्ग कि.मी. रहेको थियो भने वि.सं. २०३४ सालमा यसको क्षेत्रफल विस्तार भै ९३२ वर्ग कि.मी. कायम भएको थियो । त्यस्तै स्थानीय जनताको वन पैदावारको आवश्यकतालाई सरल र सहज रूपमा परिपूर्ति गर्न तथा निकुञ्जबाट प्रभावित बासिन्दाहरूको आर्थिक तथा सामाजिक विकास गर्ने मुल उद्देश्य लिई निकुञ्ज वरिपरिको ७५० वर्ग कि.मी. क्षेत्रलाई वि.सं. २०५३ साल मंसिरमा मध्यवर्ती क्षेत्रको रूपमा घोषणा गरिएको थियो । वि.सं. २०७३ साल कार्तिकमा यस राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रको सिमानामा केही हेरफेर गरिएको थियो । जस अनुसार निकुञ्जको क्षेत्रफल बढेर ९५२.६३ वर्ग कि.मी. र मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९.३७ वर्ग कि.मी. कायम भएको छ । यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी चार जिल्लामा फैलिएर रहेको छ । राष्ट्रिय निकुञ्जको कूल क्षेत्रफलको ७४.०४% भू-भाग चितवन जिल्लामा, १५.४५% भू-भाग पर्सा जिल्लामा, ६.९७% भू-भाग मकवानपुर जिल्लामा र ३.५४% भू-भाग नवलपरासी जिल्लामा पर्दछ । त्यस्तै यो राष्ट्रिय निकुञ्ज प्रदेशहरू मधेश, बागमती र गण्डकीमा फैलिएर रहेको छ । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना पश्चात् जैविक विविधता संरक्षणको संस्थागत सुरुवात भएको देखिन्छ । नेपालमा संरक्षणको ईतिहास हेर्ने हो भने यसको अनौपचारिक सुरुवात परापूर्व काल देखि नै भएको पाईन्छ । धार्मिक तथा सांस्कृतिक परम्परा र आस्थाका आधारमा रुख विरुवालाई संरक्षण गर्ने, पुजा गर्ने, वन्यजन्तुलाई देवी देवताको बहानको रूपमा लिने, वन्यजन्तुको शिकार नगर्ने चलन हालसम्म पनि कायम रहेको छ । वि.सं. १९०४ सालमा राणा शासनको शुरुवात देखि वि.सं. २००४ साल सम्म चितवनको जंगललाई नेपालको राजपरिवार, राणाहरू र उनीहरूका विशिष्ट स्वदेशी तथा विदेशी पाहुनाहरूको लागि शिकार क्षेत्रको रूपमा छुट्याएर भए पनि संरक्षण गरिदै आएको ईतिहास रहेको छ । उक्त समयमा यस क्षेत्रमा औलोको प्रकोपले गर्दा आदिवासी थारु समुदाय बाहेकका अन्य मानव वस्ती रहेको थिएन । औलो उन्मुलनसँगै पहाडी क्षेत्रका मानिसहरू तराईमा बसाई सर्ने क्रम शुरु भयो भने सोही समयमा नै राणा शासनको समाप्ति समेत भएकोले यहाँको जंगल अतिक्रमणमा तिव्रता आएको पाईन्छ । यसरी जंगल फँडानी गरेर घरहरू बनाउने तथा कृषि योग्य जमिनमा रूपान्तरण गर्ने क्रियाकलापले वन्यजन्तुहरूको बासस्थान संकुचित हुँदै गएको साथै चोरी शिकारीको समेत कारणबाट एकसिंगे गैंडा लगायतका वन्यजन्तुहरूको संख्यामा निकै ह्रास आएको पाइन्छ । वि.सं. २००७ (सन् १९५०) साल तिर चितवन उपत्यकामा करिब ८०० भन्दा बढीको संख्यामा रहेको अनुमान गरिएको एक सिंगे गैंडा वि.सं. २०२० को दशकमा १०० भन्दा कमको संख्यामा सीमित भएको अनुमान गरियो । उल्लेखित सन्दर्भमा दुर्लभ हुन पुगेका वन्यजन्तुहरूको संरक्षणको आवश्यकता महशुस गरी वि.सं. २०२० (सन् १९६३) मा राप्ती नदी देखि दक्षिणको क्षेत्रलाई गैंडा आरक्षण क्षेत्र घोषणा गरी सशस्त्र वन रक्षकबाट गैंडा गस्तीको शुरुवात गरियो भने वि.सं. २०२९ सालमा “राष्ट्रिय नि कुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९” लागू भए पश्चात् नेपालको पहिलो संरक्षित क्षेत्रको रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भै विधिवत रूपमा वन्यजन्तु र यिनीहरूको बासस्थान संरक्षणको शुरुवात भएको हो । चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधता संरक्षणको दृष्टिकोणले विश्वमा नेपालको गौरवको रूपमा रहेका छ । एकसिंगे गैंडा, पाटे बाघ, गौरीगाई, जंगली हात्ती तथा घडियाल गोही यस निकुञ्जमा पाईने केही महत्त्वपूर्ण दुर्लभ वन्यजन्तुहरू हुन । यस निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र दुर्लभ एकसिंगे गैंडाको महत्त्वपूर्ण बासस्थान हो । सन् २०१५ मा गरिएको गणना अनुसार यस राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्या ६०५ वटा रहेको थियो । आ.ब २०७७। ७८ मा गरिएको गैंडा गणना अनुसार यस राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको संख्या बढेर ६९४ वटा पुगेको छ जुन विश्वमै दोश्रो ठूलो संख्या हो । हरेक चार चार वर्षमा बाघको राष्ट्रिय सर्वेक्षण कार्य गरिदै आएकोमा सन् २०१३ को गणना बमोजिम यस निकुञ्‍जमा १२० भन्दा भढी प्रजनन् उमेरका वयस्क पाटे बाघ रहेकोमा सन् २०१७-०१८ मा यस निकुञ्‍जमा १२८ वटा पाटे बाघ रहेका छन् ।